कमल खनाल

डिसेम्बर २६ शुक्रबार २०२५  दिनको २.४५ बजेको थियो एयरपोर्ट जानका लागि घरबाट निस्कँदा।  बेलुका ६.१५ को उडान थियो।हामी एयरपोर्ट पुग्यौ। कतार एयरलाइन्सको जहाजबाट उडान भर्नु थियो। अमेरिका फर्किहाल्नका लागि मन त्यति उत्सुक थिएन।

मनले यस्तो सोचिरह्यो कि सकेसम्म नेपाली माटोसँग  मेरा पैतालाहरूको सम्बन्ध अटुट रहोस्। तर यति बेला यो सम्भव थिएन।अमेरिकाको यात्राका लागि कतार एयरको जहाज चढ्यौ।“फूलै फूल मात्र पनि होइन रहेछ जीवन” भन्ने गीतले व्यक्त गरेको यथार्थ भित्र मैले आफूलाई हेरे लाग्यो परिस्थिति सदैव अनुकूल भइरहँदैन भन्ने यथार्थले हामीलाई यात्रा उन्मुख गरायो र हिँड्यौ अमेरिका तिर।

आज हामी सँगै अमेरिकी यात्रामा अट्ठाइस वर्षीय एक युवती छन्। उनले अमेरिका जानकालागि गरेको कोशिस साढे तिन वर्षमा पुरा भएको छ। पहिलो पटक बोइङ्ग मार्फत  यात्रा गरिरहेकी छन्। उनले सोचेको र कल्पना गरेको अमेरिका कस्तो होला? कति फरक पाउँछिन् उनले आफै महसुस गर्ने नै छिन। तर पनि यति बेला उनी अमेरिकाका लागि जहाज चढ्न पाउँदा उत्तेजित छन्, उत्साहित छन्।  धेरै कुरा मनमा खेलाइरहेकी छन्। अमेरिकाको यात्रा त मैले धेरै पटक गरेको छु। उनकै उमेर बराबरको समय हुँदो हो मैले संसारका अरू धेरै देशको यात्रा गर्दा पनि । म मा पनि उनकै जस्तो जोस थियो, जवानी थियो। सबै यात्राहरू रमाइला थिए र संस्मरणयुक्त थिए। 

एउटै देशको यात्रा पटक पटक गर्दा  मानिसलाई  निरासा र बेचैन बनाउँदो रहेछ। यति वेला मेरा लागि अमेरिका धेरै पटक खाएको गुण जस्तै  अनुभव भएको छ। कुनै बेला अमेरिका मेरा लागि अन्तिम गन्तव्य जस्तै  थियो । मेरा जीवनमा भुल्नै नसकिने अनगिन्ती समय र सन्दर्भ छन्। जुन रमाइला छन् र यथार्थ छन्। ती क्षणहरू  सम्झँदा अहिले पनि काउकुती लागेर आउँछ। यात्रा अवधिमा मैले मेरा विगतका चित्रपट हेर्दै र पल्टाउँदै आइरहेको थिए। यस्तै धेरै कुराहरू मनमा खेलाउँदा खेलाउँदै जहाज कतार आइपुगेको थाहै भएन। केही घण्टाको बसाइ पछि कतारबाट हामी अमेरिकाका लागि उड्यौ। केही समयको उडान पछि जहाज साउदी अरेबियाको आकाश पार गरेर टर्कीको आकाशमा उडिरहेको थियो।

यति बेला हामी टर्कीको आकाश पार गरेर सर्बियाको आकाशमा उडिरहेका रहेछौ। सर्बिया ५० को दशकमा  भयङ्कर आन्तरिक  द्वन्द्वमा थियो। हजारौँ मानिसहरूले ज्यान गुमाए पछिको दशक यता सर्बिया शान्त छ।दाह्री र कपाल फुलेर सेतै, ठिङ्ग उभिएको मानिस जस्तै, सेतै हिउँले पुरिएको सर्बियालाई  पनि बिस्तारै पछाडि पार्दै जहाज आयरल्यान्डको आकाश तिर उडिरहेको टी मोबाइलले संकेत गरिरहेको थियो। ठिक त्यति नै बेला जहाजले हावाको वेगसँग जुध्दै बादल भित्र उड्नु परेको समय रहेछ। दुई सय पचास भन्दा बढी यात्रुहरू लिएर उढिरहेको जहाज । एक्कासि तल माथि गर्न थाल्यो। मानौँ जहाज उडिरहेको रूटमा भयङ्कर उबड ,खावड छ डरलाग्दो तुफान आइ रहेको छ । लाग्थ्यो जहाज कठिन कठिन जस्तै अवस्थामा उडिरहेको थियो। अनियन्त्रित जस्तै बनेको थियो।

यति बेला जहाजको गतिले नौबिसे मुग्लिङको बाटोमा कुँदिरहेको माइक्रोवसको सम्झना गरायो। मानिसहरू चिच्याउन थाले।  केटाकेटीहरू आत्तिएर रुन कराउन थाले। एयरहोष्टेजहरूले आफ्नो नियमित काम रोके।हतार हतार गरेर आफूलाई सम्हाले।  मैले पनि मनमनै पशुपतिनाथलाई सम्झे। म सँगै झ्यालको सिटमा पच्चिस छब्बीस उमेरकी एक युवती थिइन। बीचमा अट्ठाइस तीस उमेरका एक युवक थिए र म छेउको सिटमा थिए। म सँगै  बस्ने युवकले हातमा रुमाल लिएर आँखाबाट आँसु पुछिरहेका थिए । मसिनो स्वरमा रोएको आवाज पनि आएको थियो। मैले खासै चासो राखिन । उ निकै समय सम्म रोइरह्यो। मैले सोध्न सकिन।

जहाजको गति नियन्त्रणमा आए पछि पनि उ रोइरह्यो। अव भने मलाइ उसको अवस्था बुझ्न मन लाग्यो र युवकतिर फर्केर हेरे। उसले एयरपोडको सहायताले भिडियोकलमा रुन्चे स्वरमा कुरा गरिरहेको थियो। हेरे एक युवतिले पनि उ सँगै आँसु पुछिरहेको देखे। लाग्यो यो अगाध प्रेममा परेको जोडिले जे नभोग्नु पर्ने थियो त्यही भोग्नु परेको भयङ्कर र डरलाग्दो परिस्थितिबाट उन्मुक्ति पाए झैँ गरेर आँसु पुछिरहेका थिए।

गर्भवती महिलाहरूको पेटमा भएको शिशुले समेत थाहा पाउने गरी हल्लायो जहाजले। प्रार्थना गर्छु कसैको शिशु विकलाङ्ग भएर नजन्मियोस्। यस्तो परिस्थितिको सामना गर्नु परेको थियो। आकाशको उडानमा पनि। मेरो पैँतिस वर्षको जहाज यात्रा उडानको अनुभवमा मैले यस्तो कहिल्यै महसुस गर्न परेको थिएन। मलाइ यो नै भयङ्कर र डरलाग्दो यात्रा महसुस भयो र थियो पनि । सोचे समुद्र माथि छौ मृत्यु असहज हुँदैन। केही समय पछि पाइलटले सबै यात्रुहरूसँग माफी मागे। अव परिस्थिति सहज भएछ भन्ने बुझियो। लामो यात्रामा जहाजमा आइपर्ने अनेकन बाधा,व्यवधान सबैले सँगै ब्यहोर्नु पर्ने रहेछ। त्यस्तो परिस्थितिमा पाइलटहरूको जिम्मेवारी र साहसले काम नगरेको भए…!?

 जे होस जस्तो सुकै परिस्थिति झेलेर भए पनि जहाज  “जेएफके” मा सकुसल ल्याण्ड गर्यो। न्यु योर्क दुई दिन अगाडि देखिनै हिउँले पुरिएको रहेछ। सेताम्मे थियो। न्यु योर्क,वृद्ध अवस्थाको मानिस जस्तो कठाङ्ग्रिएर कक्रक्क परेको थियो।कपास फुले झैँ सेतै थियो। जहाजले सकुसल न्यु योर्क पुर्‍याएको खुशी हामीमा थियो । त्यो खुशी केही छिनमा नै हिउँ पग्ले झैँ पग्लेर गयो। मोबाइलमा हेरे अमेरिकन एयरलाइन्सबाट उडान क्यान्सिल भएको मेल आएको रहेछ। हेरे हाम्रो “जेएफके बाट आरडियू” को कनेक्टिङ्ग फ्लाइट क्यान्सिल भएछ। अमेरिकन एयरलाइन्सद्वारा उडान रद्द गर्दा हामीलाई परेको असहज परिस्थिति यो पहिलो पटक भने होइन।

उसको मेलमा  “आजको फ्लाइट क्यान्सिल भएको छ भोलिका लागि रिसेडुल गर”लेखिएको थियो। मेल पढे पछि हामी समस्यामा पर्यौ। हामीले टिकट किनेको डिलिजेन्ट ट्राभल्स  एजेन्सीलाई फोन गर्‍यौ। उनीहरूले हामी कोशिस गरिरहेका छौ भने। बिहानको नौ बजे जेएफकेमा जहाज अवतरण गरेको थियो। ट्राभल्स एजेन्सी प्रति  हामी आशाबादी  थियौ। यात्रा अवधिको अभिभावक नै हाम्रो लागि डिलिजेन्ट ट्राभल्स नै थियो। समय घर्किँदै गयो। हामीले उनीहरूसँग अब आशा गर्न छोड्यौ।

हामी  सिधै अमेरिकन एयरलाइन्सको काउन्टरमा पुग्यौ। अमेरिकन एयरलाइन्सलाई मेल देखायौ। उनीहरूले हाम्रो टिकट रिसेडुलका लागि धेरै कोशिस गरे । आरडियू को डाइरेक्ट फाइट फुल भइसकेको रहेछ।फाइट क्यान्सिलको सूचना ट्राभल्स एजेन्सीलाई दुई दिन अगाडि नै पुगिसकेको रहेछ।  आफ्नो एजेन्सीबाट टिकट किनेका मानिसहरूको बारेमा ट्राभल्स एजेन्सी सचेत हुनु पर्थ्यो। शुरूमा नै कोशिस गरेको भए हामीले दुख झेल्नु पर्ने थिएन। उसले यो सेवा दिने विषय पनि हो भन्ने कुरा भुले जस्तो लाग्यो।अमेरिकन एयरलाइन्सले भोलिपल्टको टिकट मिलाइ दियो। तर सँगै यात्रामा रहेका हामीलाई फरक फरक फ्लाइटको टिकट उपलब्ध गराए। त्यो परिस्थितिलाई पनि हामीले सहजै स्वीकार गर्नु पर्यो। नत्र अर्को दिन पनि न्यु योर्क बस्नु पर्ने हुन्थ्यो। 

आरडियू जानका लागि मैले सार्लोट हुँदै जानु पर्ने भयो। असी वर्षीय आमा र श्रीमती वासिगंटन हुँदै आरडियू जानु पर्ने भयो। सँगै लामो यात्रा गरे पनि  एकै ठाउँमा एउटै घरमा पुग्न पनि दुई वटा फरक फरक बाटो बाट यात्रा गर्नु पर्ने बाध्यता आइपर्यो। यो सँगै हामीलाई थप अर्को चुनौती पनि आइ पर्यो। त्यो थियो वासस्थानको व्यवस्था मिलाउने। साँझ परिसकेको थियो। हिउँले ढाकिएको न्यु योर्कमा कठाङ्गग्रिदो चिसो थियो ।

हाम्रो साथमा असी वर्षीय आमा हुनु हुन्थ्यो। उहाँ शारीरिक रुपमा कमजोर र हिँड्न नसक्ने हुनुहुन्थ्यो। ह्विलचियरको साहारामा हुनुहुन्थ्यो। यस्तो अवस्थामा होटेलको व्यवस्थापन त्यति सजिलो थिएन। एक हजार फ्लाइट क्यान्सिल र एघार सय ९१ फाइट डिले भएको विभिन्न न्यूज एजेन्सीहरूले ब्रोकास्ट गरिरहेका थिए। यस्तो अवस्थामा न्यु योर्कमा होटल पाउनु कति सहज थियो होला? परिस्थितिले कोल्टे फेर्‍यो। यस भन्दा पहिले चिनजान सम्म नभएका न्यु योर्क बस्ने रिकेस भाइले होटल देखि खानाको व्यवस्था सम्म मिलाइ दिए।

समयले मानिसलाई चिन्न सजिलो बनाउने रहेछ। होटल र खानाको पेमेन्ट उनैले गरे। एयरपोर्टबाट होटल र होटेलबाट एयरपोर्ट जाने उबरको बन्दोबस्त मिलाएर ठूलो गुन लगाए । उनले गरेको खर्च त तिर्न सकिएला। तर अवर परेको बेलामा उनले लगाएको गुन तिर्ने कसरी ?

हामीसँग पाँच वटा लगेज र तीनवटा ह्याण्ड क्यारी थिए। फरक फरक जहाजबाट फरक फरक स्थानबाट यात्रा गर्नु पर्ने भए पछि एयरलाइन्सका कर्मचारीहरूले तीनवटा लगेज वासिगंटन हुँदै र दुई वटा सार्लोट हुँदै आरडियू पुग्ने गरी ट्याग लगाएर पठाए। वासिङ्टनबाट सँगै आउनुपर्ने  लगेज अगिल्लो दिनमा नै आरडियूको फ्लाइटमा हालिदिएछन्। ती लगेज आरडियूमा आएर कलेक्सन गर्नु पर्ने थियो। मसँग भएको लगेज मैले सँगै आरडियूबाट कलेक्सन गरे लिए । वासिङ्गटन हुँदै आउनु पर्ने तीनवटा लगेज मध्ये दुई वटा मात्र आरडियूबाट कलेक्सन गरियो। एउटा लगेज पाइएन। 

एयरलाइन्सका कर्मचारीहरूको सामान्य गल्तीबाट हामीले तनाव भोग्नु पर्यो। अमेरिकन एयरलाइन्सको काउन्टरमा कमप्लेन गरियो। घरको एड्रेस  टिपाएर छोडियो। छुटेको एउटा सुट्केश पाँचौँ दिन सम्म पनि घरमा पुगेन। तर संसारका विभिन्न स्थानमा पुगिसकेको थियो। वासिङ्गटन हुँदै आरडियू आउनु पर्ने लगेज “फ्लोरिडाको मायमी” पुगेछ। त्यो पनि दुई पटक सम्म मायमी पुगेछ। मामयीबाट मलाइ फोन आएको थियो । मैले स्क्याम होला भनेर उठाइन। धेरै पटक सोचे। मायमीमा मलाइ चिन्ने कोही थिएनन्। अर्को दिन लगेज “क्यारोलिना पुर्टोरियो” (जुन अमेरिकन टेरिटोरी हो ) मा पुगेछ। 

पुर्टोरियोबाट मलाइ फोन आयो मैले जबरजस्त उठाए। मेरो नाम लिएर लगेजका बारेमा कुरा भयो। मैले आरडियू पठाइदिन भने। उनीहरूले सार्लोट पठाएछन्। हाम्रो लगेजमा एयर ट्याग थियो। जसलेगर्दा लगेज ट्रयाक गर्न सकिने थियो। हामीले निरन्तर ट्रयाक गरिरह्यौ। तर उनीहरूले ठिक ठाउँमा पठाउन सकिरहेका थिएनन् । 

अर्को दिन लगेज “सार्लोट” आइपुगेछ। लगेज सार्लोट आइपुग्दा  गन्तव्यतिर आइरहेको छ जस्तो लागिरहेको थियो। तर फेरि सार्लोटबाट लगेजले पुर्टोरियोको यात्रा गरेछ। पाँचौँ दिनमा लगेज “पुर्टोरियोबाट पेरुको राजधानी लिमा” पुगेछ। लिमा पुगे पछि हामीले एयर ट्यागको कोड नं एयरलाइन्सलाई पठायौ। लगेज पेरुको लिमा पुगेको ट्रयाकिङ्ग भइरहेको थियो। 

सामान्य गल्तीले ठूलो हन्डर र गोता खानु परेको थियो यस पटकको यात्रामा। महत्त्वपूर्ण सामानले भरिएको  त्यो लगेजले चिन्ता बढाइरहेको थियो।  कहिले आउने हो? कसरी आइपुग्ने हो? एक्किन थिएन।तर आज भने लगेजले नर्थक्यारोलिनाको यात्रा तय गरेछ। मैले अनायास घरको ढोका खोले दिनको दुई पैँतालिस भएको थियो। लगेज घर भित्र छिर्न ढोकामा ठिङ्ग उभिरहेको रहेछ। मैले स्वागत गरे भित्र छिराए। 

न्यु योर्कबाट छैटौँ दिनमा नर्थक्यारोलिना स्थित सीकोष्ट एभिन्यूमा लगेज आइपुग्यो तर सामानहरू जुन अवस्थामा आइपुग्नु पर्ने थियो त्यो हुन सकेन। 

The post काठमाडौँ देखि पुर्टोरियो हुँदै पेरुको लिमासम्म first appeared on .

You May Also Like

Continue quenching your thirst for great writing :-p

भ्रष्टाचारमा लोभलाग्दो आकर्षण, सरुवा रोग जस्तै फैलिँदै भ्रष्टाचार

भ्रष्टाचारमा लोभलाग्दो आकर्षण, सरुवा रोग जस्तै फैलिँदै भ्रष्टाचार

ठुला भनिएका दलहरू कांग्रेस,एमाले र माओवादी लाई जतिसुकै र जस्तोसुकै भ्रष्टाचारको आरोप लागे पनि कांग्रेस,एमाले र माओवादी बीच सहमति भयो भने भ्रष्टाचारको आरोप मिथ्या जस्तै हुदोरहेछ। यद्यपि भ्रष्टाचार भएका र भनिएका विषयमा बस्तुगत रूपमा अनुसन्धान गर्ने...

आलो पालो नेतृत्वमा कांग्रेस !

आलो पालो नेतृत्वमा कांग्रेस !

दशकौँ देखि राष्ट्रिय राजनीतिको मियोको भूमिकामा रहेको कांग्रेस पार्टी आज अन्योलको भुमरीमा फसेको छ। के गर्ने के नगर्ने दोधारमा परेको छ। गणतन्त्र भित्र गणतन्त्रीय संस्कार भेटिँदैन । न्याय र समानताका धारहरू मेटिँदै गए। भ्रष्टाचार मौलाउँदै गयो। एक...

८२ वर्षीया आमालाई ‘नर्थ क्यारोलाइनामा हिउँको पहिलो अनुभव’

८२ वर्षीया आमालाई ‘नर्थ क्यारोलाइनामा हिउँको पहिलो अनुभव’

कमल खनाल १० जनवरी २०२५ को बेलुका नर्थ क्यारोलाइनामा हिउँ पर्यो। सिमलका भूवा हावामा उडे झैँ हिउँका हल्का पत्काहरू फुरुरुरु जमिनमा झरे। केही घण्टामा नै ती पत्काहरूले जमिन ढाकेर सेताम्मे बनायो।  हामीले  पनि ती झरेका पत्काहरूलाइ हातमा थाप्यौ शरीर भरी...

0 Comments